Lite Nepal

बिहिबार, आषाढ २५, २०८३

विराटनगर । कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीले ‘हामी बालेनको प्रहरी होइन, नेपाल प्रहरी हो । प्रहरी कसैको होइन र प्रहरी सबैको हो।’ भनेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरी संगठनको निष्पक्षता र भूमिकाबारे व्यापक बहस सुरु भएको छ ।

धेरैले प्रहरी कुनै व्यक्ति, सरकार वा राजनीतिक दलको नभई राज्यको सुरक्षा निकाय भएको भन्दै डीएसपी चौधरीको अभिव्यक्तिको समर्थन गरेका छन् ।

यसैबीच, नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले पनि प्रहरीको तटस्थताबारे धारणा राख्दै डीएसपी चौधरीको नियतमा खोट नभएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागूऔषध सचेतना कार्यक्रममा ‘हामी बालेनको प्रहरी होइन, नेपाल प्रहरी हो । प्रहरी कसैको होइन र प्रहरी सबैको हो ।’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङले बताएका छन्, ‘प्रहरीको नियती नै त्यस्तै छ कि जो सरकारको प्रमुख हुन्छ, त्यसकै हो भन्ने ट्याग लाग्छ । तर वास्तवमा प्रहरी कसैको होइन ।’

डीएसपी चौधरीको अभिव्यक्तिबारे उनले थपे ‘आदिवासी चौधरीको छोरा, शब्द छनोटमा कमजोरी त भयो होला, तर नियतमा कुनै खोट देखिँदैन ।’ उक्त अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय कैलालीले भने डीएसपी चौधरीलाई स्पष्टिकरणका लागि बोलाएको छ ।

घटनापछि सामाजिक सञ्जालमा अधिकांश प्रतिक्रिया प्रहरीको संस्थागत निष्पक्षताको पक्षमा देखिएका छन् । धेरै प्रयोगकर्ताले प्रहरी राज्यको संस्था भएकाले कुनै व्यक्ति वा सरकारसँग जोडेर हेर्न नहुने तर्क गरेका छन् ।

अर्कोतर्फ, प्रहरी अधिकृतले सार्वजनिक कार्यक्रममा प्रयोग गर्ने भाषा र अभिव्यक्ति भने संगठनको आचारसंहिता र पेशागत मर्यादाअनुसार हुनुपर्ने मत पनि व्यक्त भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं