ताप्लेजुङ । वर्षाका कारण सडक माथिबाट झरेको पहिरोले फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक, विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
शुक्रबार रातिको वर्षाले फुरुम्बुको ओठेखोला क्षेत्रमा पहिरो गएको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए ।
सडकभन्दा माथिबाट झरेको पहिरोले सुकेटारबाट हान्देवा, फुरुम्बु हुँदै लिंखिम जोड्ने सडक ठप्प भएको हो । आठे, निभारे, कार्कीचौक हुँदै वैशाखे जोड्ने सडक अवरुद्ध बनेपछि शनिबार बिहानदेखि यातायात ठप्प भएको वडाध्यक्ष लिम्बूले बताए ।
पहिरोले विद्युतको पोल ढालेको छभनें त्यही पोलमा राखेर बिस्तार गरिएको इन्टरनेटपनि अवरुद्ध बनेको छ । पहिरोका कारण ढलेको रुखले बिजुलीको खम्बा, प्रसारण लाइनको र इन्टरनेटको तारमा क्षति पुर्याएको लिम्बूले जानकारी दिए । फुरुम्बु क्षेत्रमा शुक्रबार रातिदेखि नै विद्युत सेवा ठप्प छ ।
विद्युत अवरुद्ध बनेपछि विद्युतीय सुविधा सबै ठप्प भएका छन् । पुनः सञ्चालनकालागि प्रयास भइरहेको तर समय लाग्ने वडाध्यक्ष लिम्बू बताउँछन् । सडक खुलाउन र विद्युत सेवा नियमित गर्नका एक्स्काभेटर वा जेसिभी मेसिनको आवश्यकता पर्ने उनले बताए ।