काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिम गाउँमा पाथीभरा देवीको मन्दिर स्थापना भएको छ ।
पाथीभरा आयुर्वेद अस्पताल काठमाडौंका चिकित्सक बीपी तिम्सिनाको अगुवाइमा मन्दिर स्थापना भएको हो । उक्त ठाउँको ‘गुरुचेला धुरी’को नाममा चर्चित डाँडामा तिम्सिनाले पाथीभरा मन्दिर स्थापना गरेका हुन् । उक्त मन्दिर असार २५ देखि सञ्चालनमा आएको छ । २६ असारमा प्राण प्रतिष्ठा र २७ गते विशेष पूजा ‘हवन’ गरी मन्दिर सञ्चालनमा आएको मन्दिरका वास्तुविद कृष्ण पौडेलले बताए ।
“स्वर्थद्वारी महाप्रभु कपिलानन्द गएर साधना गरेको ठाउँ भएकाले प्रभुचेला धुरी भनेर चर्चित ठाउँ रहेछ,” उनी भन्छन्, “पाथीभरा माताको मन्दिर स्थापना गर्ने डा. साबको इच्छा थियो, पूरा भएको छ ।”

पाथीभरा मन्दिर पूर्वको ताप्लेजुङ जिल्लामा चर्चित छ । पश्चिमका जनताले पाथीभरा मन्दिरको दर्शन गर्न पूर्व जाँदा निकै लामो दूरी तय गर्नुपर्ने अवस्था छ । पश्चिमका जनताले पनि पाथीभरा माताको दर्शन गर्न पाउन् भन्ने उद्देश्यले मन्दिर स्थापना गरिएको पौडेलले बताए ।
“पूर्वमा पाथीभरा माता जसरी विराजमान हुनुहुन्छ, त्यही शैलीमा स्थापना गरिएको छ, पञ्चधातु मिसाएर मूर्ति बनेको छ,” उनी भन्छन्, “पश्चिममा पाथीभरा मन्दिर दर्शन गर्ने मानिसहरूको मनको रहर पूरा भएको छ ।”
प्राण प्रतिष्ठाको मुख्य कर्ता डा. तिम्सिना थिए । उनकै व्यक्तिगत लागतमा मन्दिर निर्माण भएको थियो । उनले प्राण प्रतिष्ठापछि मन्दिरको रेखदेख म्याग्दीबासीमै समर्पण गरेका छन् ।