Lite Nepal

आइतबार, साउन ०३, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ ।

विभागका बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्न सक्ने बताइन् ।

“आज साँझसम्म कोशी नदीको जलसतह चार दशमलव ७८ मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ । आज राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले छ मिटरको सतर्कता तह पार गर्न सक्छ”, उनले भनिन् ।

विष्टका अनुसार नदीको जलसतह छ मिटर पुगेमा सतर्कता तह र सात मिटर पुगेमा खतरा तह पार गर्नेछ । नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए ।

उनले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकता अनुसार पूर्वतयारी तथा प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए ।

विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं