काठमाडौं । जिल्ला धनुषा, मिथिला नगरपालिका-६ ढल्केबरस्थित एक उद्योगमा ग्याँस लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान करिब ७ बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रा.लि. (ब्रिकेट उत्पादन हुने उद्योग) भित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई अचानक आगलागी भएको थियो ।
आगलागीमा हुँदा निम्न तीन जना कामदारको शरीरका विभिन्न भाग जलेको छ भने घाइते तीनै जनाको प्रादेशिक अस्पताल, जनकपुरमा उपचार भइरहेकोमा थप उपचारको लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।
जिल्ला बारा प्रसौनी गाउँपालिका-४ खुट्वा प्रसौनी बस्ने २३ वर्ष सोमराती अंसारी, २२ वर्ष अब्दुल अंसारी र २५ वर्ष धर्मराज महत्तोको शरीरको विभिन्न भाग जलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । आगो भने नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ ।