विराटनगर । सुनसरीमा भएको घटनापछि सरकारले कोशी प्रदेश प्रहरी प्रमुखसहित सुनसरीका सुरक्षा अधिकारी सबैलाई केन्द्रमा तानेको छ भने, उनीहरूको स्थानमा अन्यलाई पठाएको छ ।
कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा डीआईजी शेखर खनाललाई जिम्मेवारी दिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका खनाललाई कोशी प्रदेशको डीआईजीको रुपमा गृह मन्त्रालयले सरुवा गरेको हो । सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गएका बेला कोशीको डीआईजीको रुपमा विनोद घिमिरे थिए । घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर खनाललाई त्यहाँ पठाइएको हो ।
उक्त घटनालाई लिएर गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई पनि फिर्ता बोलाएको छ । घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ ।थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो । घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए ।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ । समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।