Lite Nepal

मंगलबार, साउन १२, २०८३

भद्रपुर । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थल मार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्यांकमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन ।

नाकाबाट कूल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन् । कूल आगमनको ५३ प्रतिशत अर्थात् चार हजार नौ सय ९४ जना भुटानी नागरिक रहेको बताइएको छ ।

यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशत अर्थात् दुई हजार एक सय ५२ जना पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ ।

सबैभन्दा बढी पुस महिनामा एक हजार आठ सय ५० जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौ महिनामा दुई सय १६ जना मात्र आएका थिए ।

पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको निमित्त प्रमुख राजवंशीको भनाइ छ ।

अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भई नसकेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं