विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि उत्पन्न सुरक्षा त्रासका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय र कलेज बन्द भएका छन्।
सुरक्षा जोखिम तथा विद्यालय बस सञ्चालनमा अवरोध हुन सक्ने आशंकापछि शैक्षिक संस्थाहरूले पठनपाठन स्थगित गरेका हुन्।
कप्तानगन्ज क्षेत्रको अवस्था बिस्तारै शान्त बन्दै गए पनि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्मको क्षेत्रमा भने प्रदर्शन चर्किएको छ।
सडकमा विभिन्न स्थानमा टायर बालेर यातायात पूर्ण रूपमा रोकिएको छ। अहिले सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र स्थिति सामान्य नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ। हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले घटनाको शोकमा मंगलबार स्थानीय बिदा दिएका छन्।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विज्ञप्ति जारी गरेर अनुसार गाउँ कार्यपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरू बन्द रहने जानकारी दिएका छन्।