काठमाडौं । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आज देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै छ। यस दिन शिक्षा, दीक्षा तथा ज्ञान प्रदान गर्ने गुरुजनप्रति सम्मान प्रकट गर्ने परम्परा रहेको छ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा मनाइने व्यास जयन्तीलाई नै गुरु पूर्णिमाका रूपमा मनाउने चलन रहिआएको छ।
वेद व्यासले वेद, वेदान्त, अठार पुराण, उपनिषद् लगायतका धार्मिक ग्रन्थको रचना गरी हिन्दु धर्म र संस्कृतिमा महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास गरिन्छ।
गुरु पूर्णिमाका अवसरमा शिष्यहरूले आफ्ना गुरुलाई सम्मान गर्दै मिष्ठान्न, फलफूल तथा उपहार अर्पण गरी आशीर्वाद लिने परम्परा छ। गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने संस्कार नेपाली समाजमा अझै कायम रहेको छ।
यस अवसरमा विद्यालय, कलेज तथा विभिन्न संघ-संस्थाले विशेष कार्यक्रम आयोजना गरी शिक्षक तथा गुरुजनप्रति कृतज्ञता व्यक्त गरिरहेका छन्। धर्मशास्त्रअनुसार संस्कृत शब्द ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाई ज्ञानको ज्योति फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। यही सन्देशलाई आत्मसात् गर्दै आज देशभर गुरु पूर्णिमा मनाइँदै छ।
यसैबीच आजै वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।