विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर क्षेत्रमा जथाभावी सडक क्रस गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न अनाश्यक क्रसिङ बन्द गरिएको छ।
सडक डिभिजन कार्यालय विराटनगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा रोडशेष चोकदेखि बरगाछीसम्मका ११ स्थानमा रहेका अनावश्यक क्रसिङ तथा इन्टरसेक्सन बन्द गरिएको हो। बन्द गरिएका स्थानमा प्लास्टिकका ट्राफिक कोन राखेर सवारीसाधनलाई सडक क्रस गर्न रोक लगाइएको हो।
सवारीसाधनले मनलाग्दी सडक क्रस गर्ने तथा विपरीत दिशाबाट आउने सवारीसाधनसँग ठोक्किने जोखिम बढेपछि दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय सवारीसाधनको चाप बढेसँगै जथाभावी क्रसिङको समस्या पनि बढेको थियो। यसले पैदलयात्री तथा चालक दुवैका लागि जोखिम बढाउनुका साथै दुर्घटनाको संख्या बढाउनसमेत भूमिका खेलेको उनले बताए।
‘जथाभावी सवारी क्रस गराउँदा पैदलयात्री हुन् वा चालक, सबैलाई जोखिम हुन्छ। यसले दुर्घटना बढाएको थियो,’ न्यौपानेले भने, ‘त्यही जोखिम न्यूनीकरण गर्न र सडकमा हुने अव्यवस्थित क्रसिङ रोक्न अहिले यस्तो व्यवस्था गरेका हौँ।’

उनका अनुसार स्थायी रूपमा सिमेन्टेड डिभाइडर निर्माण गर्ने योजना भए पनि बजेटिङ र प्रक्रियागत काममा ढिलाइ भएकाले तत्कालका लागि प्लास्टिकका कोन राखेर क्रसिङ बन्द गरिएको हो। स्थायी डिभाइडर निर्माण भएपछि थप व्यवस्थित रूपमा सडक क्रस गर्ने व्यवस्था मिलाइनेछ।
सम्बन्धित निकायले सडक प्रयोगकर्तालाई तोकिएका स्थानबाट मात्रै सडक पार गर्न आग्रह गरेका छन्। जथाभावी सडक क्रस गर्ने प्रवृत्ति रोकिएसँगै सवारी आवागमन सहज र व्यवस्थित हुनुका साथै दुर्घटनाको जोखिमसमेत न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
