सुनसरी । सप्तकोशी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
सप्तकोशी नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थासहित स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए ।
श्रीलङ्का टापुुको चिलिया र गरैयालगायतका क्षेत्रमा सप्तकोशी नदीले तीव्र कटान गरिरहेको छ । कटान नियन्त्रणका लागि बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकासँगै स्थानीयवासीको समन्वयमा अस्थायी तटबन्ध निर्माण भइरहेको नगरप्रमुख कार्कीले जानकारी दिए ।
बालुवा र सिमेन्टका बोरा भरेर नदी किनार जोगाउने प्रयास भइरहेको छ । ठुलो बाढी आयो भने यो प्रयासले मात्रै धान्न सक्दैन । यसले केही समयका लागि राहत दिन्छ, तर यो स्थायी समाधान होइनु, उनले भने ।
कटान नियन्त्रणका लागि गत वर्ष निर्माण गरिएका करिब १८ स्परमध्ये नौ वटा पूर्णरूपमा क्षतिग्रस्त भइसकेका छन् भने बाँकी स्परलाईसमेत नदीले कटान गरिरहेको नगरप्रमुख कार्कीले बताए।
अहिले श्रीलङ्का टापु, चिलिया टापुमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा बराहक्षेत्र र बेलका नगरपालिकाको समन्वयमा श्रमदानमार्फत कटान रोक्ने प्रयास भइरहेको छ । बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने तथा बालुवा भरिएका बोरा राख्नेजस्ता उपाय अपनाइएको छ । यी अस्थायी उपाय मात्र हुन । दीर्घकालीन रूपमा बलियो तटबन्ध निर्माण र नदी व्यवस्थापन नगरी समस्या समाधान हुँदैनु,नगरप्रमुख कार्कीले भने।
सप्तकोशी नदीले धार परिवर्तन गरेर बनाएको चिलिया टापुमा अहिले पनि त्यहाँ ठूलो सङ्ख्यामा बसोबास छ । बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको यस क्षेत्रमा हरेक वर्ष बर्खायाममा नदीको बहाव बढेसँगै बाढी र कटानको जोखिम बढ्ने गरेको छ।
यस वर्ष चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान थालेपछि करिब ६, ७ सय घरपरिवार प्रत्यक्ष जोखिममा रहेको नगरप्रमुख कार्कीले बताए । सप्तकोशीले विस्तारै धार पश्चिमतर्फ मोड्ने सङ्केत देखिएकाले बाक्लो मानव बस्ती रहेका क्षेत्रमा जोखिम झन् बढेको उनको भनाइ छ।
हरेक वर्ष बर्खायाममा सप्तकोशीको बाढीले श्रीलङ्का टापुुको बस्ती डुबानमा पार्नुका साथै खेतीयोग्य जमिन कटान गरेर बगाउने गरेको छ। बर्सेनि नदीले जमिन तथा बस्ती कटान गर्दै जोखिम बढाए पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन। विशेषगरी बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित चिलिया टापु, गरैया तथा श्रीलङ्का टापुुका बासिन्दा बर्सेनि बाढी र कटानको दोहोरो जोखिममा पर्दै आएका छन्।