विराटनगर। कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागू औषध तथा प्रतिबन्धित औषधीसहित ७ जनालाई पक्राउ गरेको छ। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर, ट्रामाडोल, डाइसाइक्लोमाइन, स्पास्पेनलगायतका लागू औषध तथा प्रतिबन्धित औषधी, मोटरसाइकल र नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी हल्दिबारीले झापाको हल्दिबारी गाउँपालिका–२, कदमचोकबाट भद्रपुर नगरपालिका–७ का २८ वर्षीय सुबास राजवंशीलाई १ ग्राम ५५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यसैगरी, इलाका प्रहरी कार्यालय पथरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–१०, संगम टोलबाट २३ वर्षीय घनश्याम बस्नेतलाई ५ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–८ बाट प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २६ वर्षीय निकेश माझी, इटहरी–८ का २२ वर्षीय युवराज विक, मोरङको केरावारी गाउँपालिका–१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापा मेचीनगर नगरपालिका–८ का २१ वर्षीय सन्देश राउत रहेका छन्।
उनीहरूको साथबाट ट्रामाडोल ९४१ क्याप्सुल, डाइसाइक्लोमाइन १ हजार २३० ट्याब्लेट, ब्राउन सुगर ६०० मिलिग्राम, को ३६ प ५५४७ नम्बरको मोटरसाइकल तथा नगद ५३ हजार २१० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–१६ बाट २१ वर्षीय विदुर कार्कीलाई स्पास्पेन ४२८ ट्याब्लेट र ट्रामोल ५४८ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।