काठमाडौँ । सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पुनः पत्राचार गरेको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सीप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पत्राचार गरिएको जानकारी दिए।
उनका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावटलगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, स्टेसनरी, छपाइ तथा फर्निचरसँग सम्बन्धित वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन तथा खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनः स्मरण गराइएको प्रवक्ता अर्यालले बताए।
‘स्थानीय सीप र उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी निकायमा हुने खरिद तथा प्रयोगमा नेपाली उत्पादनलाई प्राथमिकता दिन आवश्यक देखिएको छ,’ उनले भने, ‘कार्यालय प्रयोजनका लागि हुने बैठक तथा समारोहमा कोसेली, उपहार, सजावट तथा अन्य प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तुको प्रयोग गर्न सबै कार्यालयलाई पत्राचार गरिएको छ।’सरकारले स्वदेशी वस्तु तथा सेवाको उत्पादन र प्रयोगलाई आफ्नो प्राथमिकतामा राखेको पनि अर्यालले बताए।