उदयपुर । डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत एक जना वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले डिभिजन वन कार्यालयका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले बिहीबार दिउँसो कार्यालय परिसरमा निगरानी बढाउने क्रममा पौडेललाई नियन्त्रणमा लिएको हो। पौडेलले एक सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै रकम मागेको र सोही क्रममा रकम लिएको आरोप छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले वन अधिकृत पौडेललाई अख्तियारको टोलीले नगदसहित पक्राउ गरेको जानकारी आफूलाई प्राप्त भएको बताए। ‘अख्तियारको टोलीले उहाँलाई नगदसहित पक्राउ गरेको जानकारी आएको छ। पक्राउसम्बन्धी थप विवरण अनुसन्धानपछि नै खुल्नेछ,’ उनले भने।
अख्तियारको टोलीले घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका पौडेलमाथि लागेको आरोपको कानुनी पुष्टि अनुसन्धान र त्यसपछिको कानुनी प्रक्रियाबाट हुने अख्तियारले जनाएको छ। पौडेलको उदयपुरमा करिब १४ महिनाअघि पहिलो पदस्थापन भएको बताइएको छ।