कलैया । शनिबार साँझदेखि बेपत्ता भएकी दुई वर्षीया बिन्दी मण्डल आइतबार बिहान सडक किनारको नालामा सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट बेपत्ता भएकी उनलाई कलैया–२६ स्थित सिसवा महेशपुरमा स्थानीय एक महिलाले रोइरहेको अवस्थामा फेला पारेकी हुन्।
ती महिलाले बालिकालाई नालाबाट उद्धार गरी आफ्नै घरमा लगेर हेरचाह गरेकी थिइन्। पछि प्रहरीको समन्वयमा बालिकालाई सुरक्षित रूपमा उनका अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालिका बेपत्ता भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरको कमान्डमा नेपाल प्रहरीसहित सुरक्षा निकायले रातभर खोजी अभियान चलाएको थियो।

खोजीमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो भने नेपाली सेना र सशस्त्र प्रहरीको समेत सहयोग लिइएको प्रहरीले जनाएको छ। बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनापछि कलैयाबाट समेत बालिका बेपत्ता भएपछि स्थानीयमा त्रास बढेको थियो।