Lite Nepal

सोमबार, भाद्र ०८, २०८३

झापा । गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावका कारण अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे। गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति १० रुपैयाँ जम्मा गर्न थाले। तीन दशकअघि १० रुपैयाँबाट सुरु भएको त्यही अभियान अहिले ३७७ सक्रिय सदस्य रहेको संस्थाका रूपमा विस्तार भएको छ।

झापाको अर्जुनधारा नगरपालिका–७, सरस्वती टोलस्थित ‘सामूहिक उद्धार तथा उपकार सङ्घ’को यात्रा केवल एउटा सामाजिक संस्थाको विस्तारको कथा मात्र होइन, विपत्तिमा परेका परिवारलाई समुदायले कसरी साथ दिन सक्छ भन्ने उदाहरण पनि हो। सानो सहयोगबाट सुरु भएको अभियान अहिले आफ्नै भवन, सामाजिक सेवा र नयाँ पूर्वाधार निर्माणको योजनासम्म आइपुगेको छ।

विक्रम संवत् २०५० तिर खसीहट्टे टोलबाट यो अभियान सुरु भएको थियो। गाउँका अगुवा पूर्णप्रसाद सिटौलाको नेतृत्वमा सुरु भएको तत्कालीन ‘दैवी प्रकोप उद्धार समिति’ नै अहिलेको ‘सामूहिक उद्धार तथा उपकार सङ्घ’को आधार बनेको हो।

त्यतिबेला गाउँमा कसैको मृत्यु हुँदा आर्थिक रूपमा विपन्न परिवारलाई मृत्युसंस्कार गर्न समस्या हुने गरेको थियो। त्यही अवस्था देखेर तत्कालीन १५ वर्षीय योगेश खपाङ्गीले गाउँमा सामूहिक रूपमा सहयोग गर्ने सोच बनाएका थिए।

सङ्घका संस्थापक सचिव खपाङ्गीले पुराना दिन सम्झँदै भने, ‘गरिब तथा विपन्न कसैको मृत्यु हुँदा परिवारले आर्थिक अभावमा मृत्युकर्म गर्न नसकेर तड्पिएको मैले खप्नै सकिनँ। मृत्यु पनि मान्छेपिच्छे किन फरक भयो होला भन्ने कुरा दिमागमा खेलिरह्यो। यो असमानता हटाउन आफ्नो ठाउँबाट सकेको पहल गर्नुपर्छ भनेर गाउँका अगुवा पूर्णप्रसाद सिटौलासमक्ष प्रस्ताव राखेको थिएँ।’

खपाङ्गीका अनुसार सिटौला गाउँका भद्रभलाद्मी तथा पञ्चायतकालीन जनप्रतिनिधि थिए। सामाजिक सेवाभावले भरिएका सिटौलाले प्रस्ताव सहर्ष स्वीकार गरेपछि गाउँका मानिसलाई बोलाएर बैठक राखियो र सामूहिक सहयोगको अभियान विधिवत् रूपमा सुरु भयो।

समिति गठन भएपछि गाउँमा कसैको मृत्यु हुँदा मृतकको घरमा एउटा बाकस राख्ने व्यवस्था गरियो। वडाभरिका मानिसले अनिवार्य रूपमा प्रतिव्यक्ति १० रुपैयाँ सहयोग गर्नुपर्ने नियम बनाइयो। मृत्यु संस्कारको १३औँ दिन सङ्कलित रकम मृतकको परिवारलाई हस्तान्तरण गर्ने चलन बसालियो। थोरै–थोरै रकम धेरै व्यक्तिबाट सङ्कलन गर्दा दुःखमा परेको परिवारलाई राहत पुग्न थाल्यो र यसले गाउँमा सकारात्मक प्रभाव पार्‍यो।

सुरुमा मृत्यु संस्कारका लागि आर्थिक सहयोग गर्ने उद्देश्य भए पनि पछि यसले गाउँका मानिसमा दुःख–सुखमा एकअर्काको साथमा उभिनुपर्छ भन्ने भावना विकास गराएको सङ्घका सचिव कुलप्रसाद उप्रेतीले बताए। समितिले मृत्यु संस्कारमा सहयोग गर्ने काममा मात्र आफूलाई सीमित नराखी गाउँघरमा हुने झैझगडा मिलाउने, सामूहिक छलफल गर्ने तथा टोलका अपहेलित नाम मिलाउने कामसमेत गर्न थालेपछि यो साझा थलोका रूपमा स्थापित भयो।

समय बित्दै जाँदा कतिपय आर्थिक रूपमा सक्षम परिवारले आफ्नो घरमा कसैको मृत्यु हुँदा उठेको रकम संस्थाकै नाममा राख्न थाले। यसरी सङ्कलित रकम बचत हुँदै गएपछि संस्थाको कोष निर्माण हुन थाल्यो। रकमको पारदर्शिताका लागि बैंक खाता खोली कोष सञ्चालन गरियो। विक्रम संवत् २०६८ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संस्थाको नाम परिवर्तन गरिएको थियो।

संस्थाले गाउँमा पुराण लगाउने तथा चन्दा सङ्कलन गर्ने काम अघि बढाएर जग्गा खरिद गर्‍यो भने केही जग्गा दानबाट पनि प्राप्त भयो। देश तथा विदेशमा रहेका शुभेच्छुकको सहयोगमा विक्रम संवत् २०६७ मा संस्थाको आफ्नै दुईतले भवन निर्माण भयो। भवनको तल्लो भागमा योगा सञ्चालन हुन्छ भने माथिल्लो तलामा मृत्युकर्मलगायत धार्मिक तथा सामाजिक कार्य हुँदै आएका छन्। विपन्न परिवारलाई भवन निःशुल्क उपलब्ध गराइन्छ भने सक्षम परिवारसँग दैनिक ५०० रुपैयाँ भाडा लिने गरिएको छ।

अहिले मृतकको परिवारका लागि प्रतिव्यक्ति ५० रुपैयाँ सहयोग सङ्कलन गरिन्छ। भवनको सामुन्ने रहेको थप १० कठ्ठा जग्गामा ‘अखण्ड पितृमोक्ष भवन’ र व्यायामशाला निर्माण गर्ने योजना रहेको सङ्घका अध्यक्ष जनार्दन उप्रेतीले बताए।

आगामी दिनमा क्याटरिङ, एम्बुलेन्स तथा शववाहन सेवा सञ्चालन गर्ने लक्ष्य राखिए पनि स्थानीय सरकारबाट सोचेजस्तो सहयोग प्राप्त हुन नसकेको अध्यक्ष उप्रेतीको गुनासो छ।

अर्जुनधारा–७ मा सुरु भएको सामूहिक सहयोगको अभ्यास अहिले अन्य वडा, पालिका र बाहिरी जिल्लामा समेत अनुकरण हुन थालेको छ। समयसँगै जीवनशैली परिवर्तन भए पनि आपसी सहयोग र सहकार्यको भावना जोगाइराख्नुपर्ने अध्यक्ष उप्रेतीको भनाइ छ।

तीन दशकअघि एक किशोरको संवेदनशील प्रश्नबाट सुरु भएको १० रुपैयाँको अभियान आज एउटा संस्थागत सामाजिक अभ्यासमा परिणत भएको छ। यसले समुदायमा ठूलो परिवर्तन ल्याउन सधैँ ठूलो स्रोत आवश्यक हुँदैन, सानो सहयोग र सामूहिक इच्छाशक्तिले पनि दीर्घकालीन सामाजिक अभियानको रूप लिन सक्छ भन्ने सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं