बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक बालकलाई पक्राउ गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।
पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पक्राउ परेका सुमन थापाले बयानका क्रममा खड्काको समेत संलग्नता रहेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

खड्काको पक्राउसँगै यस घटनामा पक्राउ पर्नेको संख्या ८ पुगेको छ। गरिमाका परिवारले दिएको पूरक जाहेरीका आधारमा प्रहरीले शनिबार थप पाँच जनालाई पक्राउ गरेको थियो।
गरिमाको शव भेटिएपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्नताको आशंकामा थप व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ। पक्राउ परेका अन्य व्यक्तिहरूको नाम भने प्रहरीले गोप्य राखेको छ।