विराटनगर । १४ दिनदेखि बन्द रहेका आँखा अस्पतालहरू पुनः सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङले संघीय सरकारको स्वास्थ्य निर्देशिकामा तोकिएको मापदण्डविपरीत सञ्चालनमा रहेको भन्दै साउन २७ गते विराटनगरका सातवटा आँखा अस्पतालमा तालाबन्दी गरेको थियो।
अस्पतालहरू बन्द हुँदा आर्थिक क्षति मात्रै नभई उपचारका लागि आएका बिरामीसमेत सास्ती बेहोर्न बाध्य भएका थिए। अस्पताल सञ्चालकहरूले मोरङ प्रशासनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर तालाबन्दी गरेको आरोप लगाउँदै निर्णय फिर्ता लिन मागसहित निरन्तर संघर्ष गर्दै आएका थिए।

यस विषयमा सोमबार कोशी प्रदेशसभामा समेत कुरा उठेको थियो। पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा मोरङ प्रशासनले अधिकार क्षेत्रभन्दा बाहिर गएर विराटनगरका आँखा अस्पतालमा तालाबन्दी गरेको विषय उठाएका थिए। मंगलबार मोरङ प्रहरी र प्रशासनको टोली सम्बन्धित आँखा अस्पतालमा पुगेर आफैंले लगाएको ताला खोलेको थियो।