रसुवा । चीनतर्फबाट आएको बाढीका कारण रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेको छ।
बुधबार बिहान करिब साढे ८ बजेदेखि आएको बाढीले तिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलको अवस्था अत्यन्तै नाजुक रहेको र प्रभावित क्षेत्र आसपास बस्नसमेत नसकिने अवस्था सिर्जना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
“बाढी एकदमै हिंस्रक छ। हामी ज्यान जोगाएर माथितिर भागेका छौँ। तलतिरको अवस्था नाजुक छ, माथिबाट पनि केही देखिएको छैन,” ती अधिकारीले भने।
उनका अनुसार हालसम्म कति मानिस हताहत भए वा कति सम्पत्तिमा क्षति पुग्यो भन्ने यकिन हुन सकेको छैन। अधिकारीका अनुसार तिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेको देखिएको छ।
रसुवा भन्सार कार्यालयको अवस्थाबारे समेत यकिन जानकारी प्राप्त हुन सकेको छैन। बाढी खोलाको किनार हुँदै सडकसम्म आइपुगेकाले भन्सार क्षेत्रको अवस्था हेर्नसमेत नसकिएको अधिकारीले बताए।
प्रारम्भिक जानकारीअनुसार बाढी बुधबार बिहान करिब साढे ८ बजेतिर आएको हो। अहिले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन र उद्धारको तयारी गरिरहेका छन्। यद्यपि, बाढीको तीव्र बहावका कारण प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिनाइ भइरहेको बताइएको छ।
घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन बाँकी रहेको छ।