Lite Nepal

बुधबार, भाद्र १०, २०८३
फाइल तस्बिर

चितवन । चितवनका विद्यालय तथा कलेजमा अध्ययनरत किशोर विद्यार्थीमा लामो कपाल पाल्ने प्रवृत्ति बढ्दै गएको छ। अभिभावकले छोराछोरीलाई कपाल छोटो बनाउन आग्रह गरे पनि धेरै विद्यार्थीले त्यसलाई बेवास्ता गर्ने गरेका छन्।

कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत छोराले कपाल छोटो बनाओस् भन्ने लाग्छ। विद्यालयबाट समेत छोरालाई कपाल काट्न लगाउन आग्रह गर्दै फोन आएको उनले बताए। “विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन कल पनि आएको छ। तर बाबुले कपाल छोटो बनाउन मान्दैन। जबर्जस्ती गर्नुभएन,” उनले भने।

भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको अनुभव पनि उस्तै छ। कक्षा १२ मा अध्ययनरत जेठो छोरालाई कपाल काट्न भन्न छाडिसकेको र कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि आफूले भनेको नटेर्ने गरेको उनले बताए। “ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो,” उनले भने।

यी प्रतिनिधि उदाहरण मात्र हुन्। पछिल्लो समय अधिकांश अभिभावकको गुनासो ‘छोराहरूले कपाल छोटो बनाउनै मान्दैनन्’ भन्ने हुने गरेको छ। विद्यालय तथा उच्च शिक्षा तहमा अध्ययनरत विद्यार्थी लामो कपाल पाल्न रुचाउन थालेका छन्। कतिपयले कपाल कोर्नसमेत खासै रुचि देखाउँदैनन्। जस्तो छ, त्यस्तै छाड्ने प्रवृत्ति पनि बढेको देखिन्छ।

विद्यालयहरूले विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न नपाउने भएपछि केही विद्यालयले अभिभावकको सहयोग लिन थालेका छन्। विद्यार्थीलाई कपाल काट्न दबाब दिएको भन्दै हेलो सरकार र प्रहरीमा समेत उजुरी पर्ने गरेको छ। भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सुवास आचार्यका अनुसार विद्यालयले दबाब दिएर कपाल काट्न लगाएको भन्दै विद्यार्थीले हेलो सरकारमा उजुरी दिने गरेको जानकारी आफूलाई आएको छ।

उनका अनुसार विशेषगरी हजुरबुबा–हजुरआमासँग बस्ने, होस्टलमा रहने तथा अभिभावकभन्दा टाढा रहेका विद्यार्थीले कपाल छोटो बनाउन नमान्ने गरेका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरीले पनि विद्यार्थीलाई कपाल काट्न भन्न छाडिएको बताए। निजी विद्यालयविरुद्ध हेलो सरकारमा उजुरी परेको उल्लेख गर्दै उनले देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध जबर्जस्ती कपाल काट्न लगाएको गुनासो परेको जानकारी आफूले पाएको बताए। “अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था नै छैन। कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीमा यस्तो अवस्था छ,” उनले भने।

सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको दशौँ संशोधनमा विद्यार्थीको इच्छाविपरीत जबर्जस्ती कपाल काट्न नपाउने व्यवस्था गरिएको छ। विद्यालयहरूले विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने तथा काट्न लगाउने गरेको गुनासो आएपछि सरकारले नियमावलीमै यस्तो व्यवस्था गरेको हो।

नियमावलीको नियम २५ मा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षाकोठाभित्र सञ्चालन गर्न वा गराउन नहुने उल्लेख छ। विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने व्यवस्था पनि गरिएको छ।

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा। सुरेन्द्र घिमिरेका अनुसार अहिले इन्टरनेट र सामाजिक सञ्जालको पहुँचका कारण किशोरावस्थामै विश्वभरका फेसन तथा सेलिब्रेटीका गतिविधि हेर्ने अवसर विद्यार्थीले पाएका छन्। यसले उनीहरूमा त्यसको नक्कल गर्ने प्रवृत्ति बढाएको छ।

“नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो। जे चिज सेलिब्रेटीले गर्छन्, त्यसको नक्कल उनीहरू गर्न चाहन्छन्,” उनले भने। उनका अनुसार पहिले चलचित्र तथा विश्वका गतिविधिबाट प्रभावित हुने उमेर केही माथि भए पनि अहिले मोबाइल र सामाजिक सञ्जालका कारण सानै उमेरदेखि त्यसको प्रभाव पर्न थालेको छ।

घिमिरे कपाल लामो पाल्नु आफैँमा नराम्रो नभए पनि त्यसको स्याहार–सुधारमा लाग्ने समय र खर्चका कारण पढाइमा असर पर्न सक्ने बताउँछन्। घर र विद्यालयबाट कपाल नपाल्न आग्रह गरिए पनि त्यसलाई बेवास्ता गर्नु किशोरावस्थामा आज्ञाकारिताविरुद्धको सांकेतिक विरोधका रूपमा समेत बुझ्न सकिने उनको भनाइ छ।

विशेषगरी विद्यालय तथा कलेज तहका किशोर परम्परागत छोटो कपालको शैलीभन्दा फरक, आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेका छन्। सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत तथा विदेशी फेसनको प्रभावले यो प्रवृत्तिलाई थप बढावा दिएको देखिन्छ।

विज्ञहरूका अनुसार लामो कपाल सफा गर्न कठिन हुने, दैनिक हेरचाहमा बढी समय लाग्ने र खर्चिलो हुने गर्छ। पर्याप्त सरसफाइ र स्याहार गर्न नसकेमा जुम्रा, चाया तथा अन्य समस्या देखिन सक्छन्। विशेषगरी धेरै लामो वा बाक्लो कपालमा पसिना र फोहोर जम्दा गर्मी मौसममा थप समस्या हुने गर्दछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं