काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निस्शुल्क उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि तत्काल निस्शुल्क टेलिफोन तथा इन्टरनेट सुविधा उपलब्ध गराउन निर्देशन दिएपछि टेलिकमले यस्तो व्यवस्था गरेको हो।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीलाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस निस्शुल्क उपलब्ध गराइनेछ।
टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर सूचना तथा जानकारीसमेत गराइरहेको छ।
नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुई वटा र नुवाकोटमा पाँच वटा गरी सात वटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
क्षतिग्रस्त टावर तथा सेवा पूर्वाधारको मर्मतसम्भारका लागि नेपाल टेलिकमको प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ।