काठमाडौं । रसुवामा आएको बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेपछि त्यसको असर सेयर बजारमा देखिएको छ । बुधबार नेप्से परिसूचक ३५।९२ अंकले घटेर २ हजार ५५८ अंकमा झरेको छ ।
बुधबार ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढे पनि बजारमा बिक्री चाप देखिएको हो । कारोबार भएका कम्पनीमध्ये २३ वटाको सेयर मूल्य बढ्दा २५२ वटाको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेपछि यस क्षेत्रका कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । बुधबार जलविद्युत् समूह २।८४ प्रतिशतले घटेको छ । रसुवामा आएको बाढीबाट करिब दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको र ठूलो परिमाणमा विद्युत् उत्पादन प्रभावित भएको समाचार सार्वजनिक भएका छन् ।
निर्जीवन बीमा समूह पनि ३।९० प्रतिशतले घटेको छ । जलविद्युत् आयोजनामा भएको क्षतिको बीमा दाबी भुक्तानी गर्नुपर्ने सम्भावनाले बीमा कम्पनीप्रति लगानीकर्ताको धारणा प्रभावित भएको देखिन्छ ।
बैंकिङ समूह ०।७४ प्रतिशत, विकास बैंक ०।८४ प्रतिशत, फाइनान्स १।१० प्रतिशत, होटल तथा पर्यटन ०।५४ प्रतिशत, लगानी १।३१ प्रतिशत र जीवन बीमा समूह १।५२ प्रतिशतले घटेका छन् । उत्पादन तथा प्रशोधन ०।४०, लघुवित्त ०।९१, अन्य १।४४ र व्यापार समूह ०।०४ प्रतिशतले घटेका छन् ।
बुधबार सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । अपर हेवाखोलाको १०।४३ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको ३।२१ प्रतिशतले मूल्य बढेको छ ।
यता रसुवागढी जलविद्युत्को सेयर मूल्य १५ प्रतिशतले घटेको छ । मैलुङखोला जलविद्युत्को १४।९९ प्रतिशत, त्रिशूली जलविद्युत्को १२।९५ प्रतिशत, माथिल्लो मैलुङखोलाको ११।५६ प्रतिशत र सान्जेन जलविद्युत्को ११।१८ प्रतिशतले मूल्य घटेको छ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि १०।८५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा चिलिमे जलविद्युत् कम्पनी, सानिमा मिडिल तमोर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिडी पावर अगाडि रहेका छन् ।