काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औँल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको केही समयपछि ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो ।
बुधबार बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएलगत्तै महाशाखाले तटीय क्षेत्रमा पूर्व सूचना र सतर्कता सन्देश प्रवाह गरेको थियो । यो बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास, ११ः५० बजे मलेखु बजार र दिउँसो १ः०० बजे मुग्लिङ पार गर्दै ३ः२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
बुधबार बोलुका ६ः३० बजे देवघाटमा बहाब सामान्य अवस्थामा करिब ४ मिटरमा फर्किएको प्रतिवेदनमा उल्लेख छ ।








