Lite Nepal

बिहिबार, भाद्र ११, २०८३

सुनसरी । बराहक्षेत्र नगरपालिका–८, तीनकुनेका युक्ति चौधरी ६५ वर्ष पुगे । उमेरले विश्राम खोज्ने बेला भए पनि उनको जोस र जाँगर तन्नेरीको जस्तै छ । बिहान सबेरै उठेर तरकारी बारी पस्ने चौधरी बेलुका अबेरसम्म पनि खेतीमै व्यस्त हुन्छन् ।

काँक्रा, बोडी, घिरौँला, लौका, सागपात, खोर्सानी र गोलभेँडालगायत मौसमी तरकारीको स्याहारसुसार गर्दै उनको दिन बित्छ । उमेरले काम गर्न नछेकेका चौधरीलाई परिवारका सदस्यले पनि कृषि कर्ममा साथ दिँदै आएका छन् । श्रीमती, छोरा र बुहारीको साथ पाएपछि तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको उनी बताउँछन् ।

“हाल चार बिघामा विभिन्न प्रकारका मौसमी तरकारी उत्पादन गरिरहेका छौँ । परिवारको साथ पाएको छु । बारीभरि लटरम्मै तरकारी फल्छ । न रोजगारीको अभाव छ, न घर खर्च टार्न समस्या । वर्षभरि टिप्न र बेच्न भ्याइनभ्याइ हुन्छ,” उनले भने ।

परिश्रम र आत्मनिर्भरताको उदाहरण बनेका चौधरीले तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक करिब पाँच लाख रुपैयाँ बचत गर्ने गरेका छन् । उनले २०७८ सालमा रितिका कृषि फार्म दर्ता गरी एक बिघा जमिनबाट तरकारी खेती सुरु गरेका थिए । अहिले खेती विस्तार गर्दै चार बिघामा पुर्‍याएका छन् । यही उद्यममा परिवारका सबै सदस्य रमाइरहेको उनको भनाइ छ ।

“आराम गरेर घरमा बस्ने उमेर त हो, तर पहिलेदेखि नै काम गर्ने बानी छ । अब बानी बस्यो, काम नगरी बस्नै सकिँदैन । सकुन्जेल गर्ने हो । हातखुट्टा चलेका छन्, तागत छँदै छ,” चौधरीले भने ।

तरकारी खेतीसँगै उनले गाई, गोरु, बाख्रा र स्थानीय जातका कुखुरासमेत पाल्दै आएका छन् । घरमै पालेका चौपायाबाट प्राप्त जैविक मललाई तरकारी खेतीमा प्रयोग गर्ने गरेको उनले बताए ।

“घरैमा पालेका चौपायाबाट प्राप्त हुने जैविक मललाई तरकारी खेतीमा प्रयोग गर्छु । रासायनिक मलको प्रयोग घटाएर स्वस्थ र प्राकृतिक उत्पादन गर्न सहयोग पुगेको छ,” उनले भने ।

उनको बारीमा उत्पादित तरकारी सुनसरीका चक्रघट्टी, कालाबन्जर, बाङ्गे, चतरालगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ । बजारको समस्या नरहेको चौधरी बताउँछन् । अधिकांश व्यापारी फार्ममै आएर तरकारी खरिद गर्ने गरेका छन् ।

“व्यापारी फार्ममा लिन आउँछन् । बजार मूल्यभन्दा केही कममा तरकारी दिने गरेका छौँ । यसले हामीलाई नै सहज भएको छ । नाफा–घाटाको धेरै चिन्ता गर्नुपर्दैन,” उनले भने, “आफ्नै बारीमा उत्पादन हुने तरकारीबाट घरको भान्छाको आवश्यकता पूरा हुनुका साथै छोराछोरी तथा नातिनातिनाको पढाइ र घरखर्च चल्दै आएको छ ।”

चौधरीको पहिले टिनले बेरेको घर थियो । तरकारी खेतीबाट भएको आम्दानीले उनले आफ्नो र छोराको घर निर्माण गरेका छन् ।

“तरकारी खेतीबाट आम्दानी राम्रो भएपछि छोराहरू विदेश जानु पनि परेको छैन । हामीलाई राम्रो छ,” उनले मुस्कुराउँदै भने ।

मुख्य सिजनमा उनको फार्ममा दैनिक चार–पाँच जनाले ज्यालादारीमा काम पाउने गरेका छन् । यसले स्थानीयस्तरमा रोजगारी प्रवर्द्धनमा समेत सहयोग पुगेको छ ।

तरकारी खेतीका लागि बराहक्षेत्र नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ तथा मल उपलब्ध गराउँदै आएको चौधरीले बताए । दुई वर्षअघि सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख रुपैयाँ अनुदान प्राप्त गरेको उनको भनाइ छ । यस्ता अनुदानले तरकारी खेतीमा सहयोग पुग्नुका साथै उत्पादनप्रति थप उत्साह मिलेको उनले बताए ।

बराहक्षेत्रका अधिकांश स्थानीय तरकारी खेतीमा आत्मनिर्भर रहेको चौधरीको भनाइ छ । थोरै जग्गामा खेती गरे पनि उत्पादन राम्रो हुने भएकाले आम्दानी सन्तोषजनक हुने उनी बताउँछन् ।

बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले किसानलाई तरकारी खेतीमार्फत आत्मनिर्भर बनाउन र उत्पादनमा सहजता ल्याउन नगरपालिका लागिपरेको बताए । स्थानीय किसानको आर्थिक विकासका लागि जैविक तरकारी खेती, सिँचाइ सुविधा तथा उत्पादन बजारीकरणका लागि प्रोत्साहनस्वरूप हरेक वर्ष तालिम तथा अनुदान प्रदान गर्दै आएको उनले जानकारी दिए ।

सुनसरी जिल्लामा हाल आठ हजार ८६ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं