काठमाडौँ । भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण रसुवा र नुवाकोटका गरी आठ वटा विद्यालयमा गम्भीर क्षति पुगेको छ। क्षति पुगेका विद्यालयमध्ये सात वटा रसुवाका र एउटा नुवाकोटको रहेको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरेमा रहेका विद्यालयहरूमा बाढीको सर्वाधिक असर परेको छ। टिमुरे सामुदायिक विद्यालयको भवनमा ठूलो क्षति पुगेको छ भने उत्तरगया गाउँपालिकास्थित उत्तरगया विद्यालयमा बाढी पसेपछि विद्यार्थीहरूले भागेर ज्यान जोगाएका छन्।

प्रारम्भिक विवरणअनुसार टिमुरेका तीन वटा बोर्डिङ स्कुल र दुई वटा सामुदायिक विद्यालय प्रभावित भएका छन्। तीमध्ये चार वटा विद्यालय भवन बाढीले बगाएको बताइएको छ। यद्यपि, क्षति पुगेका सबै विद्यालयको नाम भने खुल्न बाँकी छ।
यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा पनि भौतिक क्षति पुगेको छ। बाढीसँगै आएको हिलो, लेदो तथा बाढीजन्य फोहोर र अन्य सामग्री विद्यालय परिसरमा थुप्रिएपछि विद्यालय क्षेत्र पूर्ण रूपमा प्रभावित भएको छ।