Lite Nepal

बिहिबार, भाद्र ११, २०८३

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला विपद्को मौका छोपेर राहत तथा सहयोगका नाममा रकम उठाउने गतिविधि हुन सक्ने भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।

नेपाल प्रहरीले जारी गरेको सूचनामा केही व्यक्ति वा समूहले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’को नाम दुरुपयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्न सक्ने जनाएको छ।

त्यस्तै, आधिकारिक निकायको नाम, लोगो तथा ढाँचा नक्कल गरी राहत सहयोगका नाममा रकम संकलन गर्ने, सामाजिक सञ्जालमा फर्जी राहत अभियान सञ्चालन गर्ने तथा सहयोगका नाममा सर्वसाधारणलाई सम्पर्क गरी आर्थिक विवरण माग्ने गतिविधि हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम र भाइबरलगायत सामाजिक सञ्जालमार्फत नक्कली राहत कोष तथा सहयोग अभियान सञ्चालन हुन सक्छ। राहत सहयोग दर्ताको नाममा फोन गरी व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने र फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने प्रयाससमेत हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ।

यस्तै, ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनु’ भन्दै अपरिचित नम्बरबाट सन्देश पठाएर आर्थिक सहयोग माग्ने गतिविधिप्रति समेत सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

प्रहरीले कुनै पनि राहत वा सहयोग रकम पठाउनुअघि सम्बन्धित कोष तथा खाताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र पुष्टि गर्न अनुरोध गरेको छ।

अपरिचित व्यक्ति वा पेजबाट प्राप्त क्यूआर कोड, लिंक वा बैंक खाता नम्बरमा तत्काल रकम नपठाउन तथा फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन र ओटीपी मागिएमा उपलब्ध नगराउन पनि प्रहरीले आग्रह गरेको छ।

अपरिचित व्यक्तिले सहयोगका लागि रकम मागेमा पैसा पठाउनुअघि भिडियो कल वा प्रत्यक्ष फोनमार्फत वास्तविकता पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं