काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या ४६९ पुगेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ७ बजेसम्म रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो ।

यसैगरी, हालसम्म १ हजार ५४५ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका ३ जना रहेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा ८४ जना घाइते उपचाररत तथा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ ।
२८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।