Lite Nepal

शुक्रबार, भाद्र १२, २०८३

इलाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई स्थानीय तहले रु ३५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सात दिन तथा वडाध्यक्ष र सदस्यले पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

अध्यक्ष केरुङका अनुसार गाउँपालिकाका विभिन्न तहका कर्मचारीको पारिश्रमिकबाट समेत रकम जुटाइनेछ । “भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुग्ने विश्वाससहित आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेका छौँ,” अध्यक्ष केरुङले भने, “जनप्रतिनिधि तथा शिक्षक–कर्मचारीको तर्फबाट रु २५ लाख सङ्कलन गरी जम्मा गर्नेछौँ ।”

यस्तै, बिहीबार नै बसेको माई नगरपालिकाको ६५औँ कार्यपालिका बैठकले सबै जनप्रतिनिधिको १५ दिनको सेवासुविधा र कर्मचारीको दुई दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख खम्बासिंह लिम्बूले जानकारी दिए ।

जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम थप गरी रु १० लाख पुर्‍याइनेछ ।

इलाममा चार नगरपालिकासहित १० स्थानीय तह छन् ।

आठ जना सम्पर्कविहीन

यसैबीच, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका इलामका आठ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

प्रजिअ ढकालका अनुसार बिहीबारसम्म प्राप्त विवरणअनुसार देउमाई नगरपालिकाका बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने, माई नगरपालिकाका नरेन्द्रप्रसाद दाहाल तथा सन्दकपुर गाउँपालिकाका दिवानन्द सुवेदी ९दीपक० सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये न्यौपाने दम्पती र दाहाल गोसाइँकुण्ड तीर्थयात्रामा थिए भने सुवेदी उनीहरूका सवारी चालक हुन् ।

त्यस्तै, माई नगरपालिकाका विनोद राई तथा फाकफोकथुम गाउँपालिका–६ का लिलाबहादुर थापा ९लोक० र विनु थेगिम पनि सम्पर्कविहीन छन् । उनीहरू तीनै जना रसुवाको मैलुङ–गगनी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार रहेको प्रजिअ ढकालले बताए ।

त्यसैगरी, बैतडीको सिगास गाउँपालिका–७ घर भई हाल सबडिभिजन वन कार्यालय, माई नगरपालिकामा कार्यरत वनरक्षक लक्ष्मणसिंह ऐर पनि सम्पर्कविहीन भएका छन् ।

प्रजिअ ढकालले सुरक्षाकर्मी र जनप्रतिनिधिमार्फत जिल्लाका सम्पर्कविहीन नागरिकको विवरण सङ्कलन भइरहेको बताए । “बाढीमा हराएका हाम्रा जिल्लाका नागरिकको विवरण सङ्कलन भइरहेको छ,” प्रजिअ ढकालले भने, “सम्पर्कविहीन भएकाको खोजी तथा उद्धारका लागि सम्बन्धित पालिकासँग समन्वय गरिरहेका छौँ ।”

बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका जिल्लाका नागरिकको अवस्था बुझी सम्बन्धित परिवारलाई जानकारी गराउन पनि उनले अपिल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जिल्लास्थित आपत्कालीन उद्धार केन्द्रको फोन नम्बर १२३४ मा जानकारी गराउन वा ०२७५२३९८८ र ९८५२६३३३९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं