काठमाडौँ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेससहित दुई जना पक्राउ परेका छन्।
शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप रोकेर जाँच गर्ने क्रममा उक्त परिमाणको चरेस फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकले प्याक गरी लुकाइएको अवस्थामा चरेस बरामद गरिएको हो।
चरेससहित जिप चालक बझाङको बुंगल नगरपालिका–१ का २२ वर्षीय कलक धामी र जिपमा सवार बझाङकै केदारस्युँ गाउँपालिका–७ का ५० वर्षीय करन धामी पक्राउ परेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।