सुजता लिम्बू

शनिबार, भाद्र १३, २०८३

विराटनगर । लिम्बू समुदायको विवाह संस्कारमा युप्पारुङलाई वाचा, प्रतिबद्धता र वैवाहिक अधिकारको महत्त्वपूर्ण प्रतीकका रूपमा लिइन्छ ।

विवाहको लगन गर्नु अघि फेदाङबा (लिम्बू पुरोहित) को उपस्थितिमा बेहुलाले बेहुलीलाई सुख–दुःखमा सधैँ साथ दिने, इज्जतका साथ घरमा राख्ने र कुनै पनि किसिमको अन्याय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै युप्पारुङ दिने परम्परा रहेको छ ।

परम्पराअनुसार चाँदीको एक रुपैयाँको सिक्का बेहुलीको पोथाङ (पछ्यौरी वा सल) को छेउमा दह्रोसँग बाँधिदिने गरिन्छ । यही युप्पारुङलाई विवाहमा गरिएको वाचा र प्रतिबद्धताको प्रतीक मानिन्छ । यसले विवाहलाई सामाजिक तथा सांस्कृतिक रूपमा वैधानिकता र पवित्रता प्रदान गर्ने विश्वास रहेको जानकारहरू बताउँछन् । भने, अहिलेको बुझाइ अनुसार विवाह दर्ता जस्तै अधिकार दिएको भन्ने बुझिन्छ ।

युप्पारुङको अर्को महत्त्वपूर्ण पक्ष महिलाको स्वतन्त्रता र निर्णय अधिकारसँग जोडिएको छ । कुनै पुरुषले मेलापात वा चाडपर्वका अवसरमा आफूलाई मन परेको महिलालाई युप्पारुङ बाँधेर विवाहको प्रस्ताव राखेमा त्यसलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार महिलामै हुने मान्यता छ ।

महिलाले युप्पारुङ सुरक्षित राखेमा प्रस्ताव स्वीकार गरेको र मन नपरेमा सिक्का फुकालेर फ्याँकिदिएमा अस्वीकार गरेको बुझिने परम्परा रहेको बताइन्छ । यसले लिम्बू समाजमा महिलाको सहमति र निर्णयलाई महत्त्व दिइएको देखाउँछ ।

युप्पारुङ पुरुषका लागि पनि विवाहको प्रतीक मात्र नभएर जिम्मेवारीको बोध गराउने संस्कार हो । युप्पारुङ बाँध्नु भनेको आफ्नी भावी श्रीमतीप्रति पारिवारिक र सामाजिक जिम्मेवारी स्वीकार गर्नु हो । यसले पुरुषलाई आफ्नो वाचाप्रति इमानदार रहन र श्रीमतीलाई सम्मानपूर्वक व्यवहार गर्न प्रतिबद्ध गराउने सांस्कृतिक अर्थ बोकेको छ ।

तर पछिल्लो समय आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशसँगै यस्ता मौलिक परम्पराहरू क्रमशः ओझेलमा पर्दै गएका छन् । युप्पारुङजस्ता संस्कारलाई नयाँ पुस्तासम्म पु¥याउन सांस्कृतिक अभियन्ताहरूले सामाजिक सञ्जालको प्रयोगसमेत गरिरहेका छन् । तर पनि परम्परा लोप हुँदै गएको जानकारहरू बताउँछन् । युप्पारुङ पैसाको सिक्का मात्रै नभएर लिम्बू समुदायको महिलालाई स्वनिर्णय गर्ने अधिकार रहेको प्राध्यापक डिगबहादुर लावती बताउँछन् ।

उनको अनुसार आधुनिकतासँगै परम्परागत रूपमा गरिँदै आएका धेरै सांस्कृतिक अभ्यासहरू हराउँदै गएका छन्। युप्पारुङजस्ता संस्कार केवल विवाहको एउटा प्रक्रिया नभई समुदायको इतिहास, सामाजिक मूल्य, महिला अधिकार र सांस्कृतिक पहिचानसँग जोडिएका भएकाले यसको संरक्षण र अभिलेखीकरण आवश्यक छ।

युप्पारुङ लगन गर्दा बेहुलाले बेहुलीको सलमा बलियोसँग बाँधेर आफ्नो श्रीमती हुनुको अधिकार मात्रै दिएको हुँदैन बेहुलीलाई भोलीको दिनमा श्रीमानले आत्मसम्मानका साथ राख्न सकेन या पाल्न सकेन भने त्यो युप्पारुङले निधारमा हिर्काएर छोड्ने चलन पनि रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘आधुनिकता सँगै यो परम्परा हराउँदै गएको छ ।’ संरक्षण हुनु आवश्यक रहेको उनको बुझाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं