विराटनगर। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख २० हजार सहयोग गरेको देखाउँदै नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा रामेछापका एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान् कार्कीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार कार्कीले च्याटजिपिटी प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेको र त्यसमा आफ्नो क्युआर कोडसमेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको दाबी गरेका थिए। तर उक्त दाबी पुष्टि हुने वास्तविक कारोबार नभएको प्रहरीको अनुसन्धानमा देखिएको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। नेपाल सरकारले विपद् प्रभावितका लागि आधिकारिक राहत कोष सञ्चालन गरिरहेको छ।
