काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि चिनियाँ सुरुङ उद्धार विज्ञहरूको टोली परिचालित भएको छ।
नेपालस्थित चिनियाँ दूतावासले आइतबार चिनियाँ उद्धार विज्ञहरूले सुरुङभित्र खोज तथा उद्धार कार्य गरिरहेको जानकारी दिएको हो। दूतावासले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘चिनियाँ उद्धार विज्ञहरूले अहिले सुरुङमा खोज तथा उद्धार कार्य गरिरहेका छन्।’

चीनबाट आएका सुरुङ उद्धार विज्ञहरू बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको सुरुङमा भइरहेको खोज तथा उद्धार कार्यमा सहभागी भएका हुन्। चिनियाँ पक्षका अनुसार नेपाल सरकारको अनुरोधपछि विज्ञ टोली उद्धार कार्यमा खटिएको हो।
पहिलो चरणमा पाँच जना चिनियाँ सुरुङ विशेषज्ञ शनिबार हेलिकप्टरमार्फत विपद् प्रभावित क्षेत्रमा पुगेका थिए। उनीहरूले पुगेलगत्तै उद्धार कार्यमा सहभागिता जनाएका थिए। यसैबीच, आइतबार बिहान चीनबाट थप चार जना उद्धार विज्ञसहित आवश्यक उद्धार उपकरण काठमाडौं आइपुगेका छन्।
दुईवटा चिनियाँ वाई–२० सैन्य यातायात विमानमार्फत ती विज्ञसहित ५० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको हो। चिनियाँ सुरुङ उद्धार विज्ञहरूको सहभागितासँगै प्रभावित सुरुङमा भइरहेको खोज तथा उद्धार कार्यमा थप प्राविधिक जनशक्ति र उपकरण परिचालन भएको छ।