काठमाडौँ । विनाशकारी बाढीबाट विस्थापित महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिँदै प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’ तथा मनोसामाजिक परामर्शलगायत सेवा प्रदान गर्न थालिएको छ ।
भदौ १० गते बिहान भोटेकोशीलगायत त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावित तथा विस्थापित महिला र किशोरीलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपिए० को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक सामग्री वितरण गरिरहेका छन् ।

आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनाअन्तर्गत घरबार तथा आफन्तजन गुमाएर पीडामा रहेका महिलालाई ‘डिग्निटी कीट’ तथा किशोरीलाई ‘किशोरी कीट’ वितरण गरिएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी अत्यावश्यक स्वास्थ्य सेवा, यौन तथा प्रजनन स्वास्थ्य सेवा र मनोसामाजिक परामर्शसमेत प्रदान भइरहेको छ ।
युएनएफपिएका अनुसार हालसम्म दुई हजार ‘डिग्निटी कीट’, चार सय ‘किशोरी कीट’ र तीन हजार तारपोलिन वितरण भइसकेको छ ।
नुवाकोटका विभिन्न अस्थायी आश्रयस्थलमा रहेका महिला तथा किशोरीको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको युएनएफपिएले जनाएको छ । ककनी–किस्पाङ क्षेत्र, त्रिभुवन माध्यमिक विद्यालय, विदुर, बट्टार तामाङ प्लाजा तथा सामुदायिक बहुउद्देश्यीय भवन, विदुरलगायतका अस्थायी आश्रयस्थलमा रहेका प्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ उपलब्ध गराइएको छ ।
यसैगरी, धादिङ र रसुवाका बाढी प्रभावित महिला तथा किशोरीका लागि पनि ‘डिग्निटी कीट’ वितरण गर्ने तयारी भइरहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।