काठमाडौं । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरीको काम–कारबाही नागरिकले अडियो तथा भिडियोमार्फत रेकर्ड गर्न पाउनुपर्ने मागसहित दायर गरिएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
नेपाल ल क्याम्पसमा कानून अध्ययनरत विद्यार्थी विवेक चौधरी र विकास यादवले सार्वजनिक सरोकारको विषय भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि मंगलबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

सर्वोच्चले निवेदकले माग गरेबमोजिमको आदेश जारी गर्नुपर्ने वा नपर्नेबारे आधार र कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ। लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्नुपर्नेछ।
रिट निवेदकका तर्फबाट अधिवक्ताहरू नारायणप्रसाद श्रेष्ठ र थीरबहादुर कार्कीले बहस गरेका थिए। लिखित जवाफ प्राप्त भएपछि वा १५ दिनको अवधि समाप्त भएपछि मुद्दा नियमानुसार पुनः पेस गरिने सर्वोच्चको आदेशमा उल्लेख छ।