विराटनगर । दिव्य ज्योति अस्पतालको नाम लेखिएको भ्यानबाट प्रहरीले ६० किलो गाँजा फेला पार्यो । मंगलबार राति विराटनगर महानगरपालिका–१६, दरैयाबाट को. १ च ६६३० नम्बरको भ्यानबाट गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय रानीले पुष्टि गरेको छ ।
भ्यान चालक भने फरार रहेको सशस्त्र प्रहरीले जनाएको छ । भ्यानमा गाँजा फेला परेपछि घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रवीण घिमिरेले जानकारी दिए ।

उनको अनुसार फरार चालकको खोजीसमेत भइरहेको छ । यता, बरामद भएको भ्यान आफ्नो नभएको दिव्य ज्योति आँखा अस्पताल प्रशासनको दाबी छ । अस्पताल प्रशासन प्रमुख राज यादवका अनुसार उक्त गाडी अस्पतालको स्वामित्वमा नरहेको र गाडीका चालकलाई समेत आफूहरूले नचिनेको बताए ।
यादवले भने,‘गाडी दिव्य ज्योतिको होइन, हाम्रो गाडी नभएकाले यससँग अस्पतालको कुनै सरोकार छैन । गाडीमा दिव्य ज्योति आँखा अस्पतालको नाम लेखिएको भन्दैमा त्यो हाम्रो गाडी हुँदैन ।’
उनका अनुसार अस्पतालको प्रचार–प्रसारका लागि विभिन्न सवारीसाधनमा दिव्य ज्योति आँखा अस्पतालको नाम तथा स्टिकर राख्ने गरिएको छ । त्यसै क्रममा उक्त भ्यानमा पनि अस्पतालको नाम प्रयोग गरिएको हुन सक्ने उनको भनाइ छ ।
‘प्रचार–प्रसारका लागि गाडीमा नाम टाँस्ने गरिन्छ, तर त्यो गाडी हाम्रो स्वामित्वको होइन। बरामद भएको गाडीसँग अस्पतालको कुनै सरोकार छैन,’ यादवले स्पष्ट पारे ।
प्रहरीले भने भ्यानको वास्तविक धनी, चालक तथा गाँजा ओसारपसारमा संलग्न व्यक्तिबारे अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा अस्पतालको नाम कसरी र कुन प्रयोजनका लागि प्रयोग भयो भन्ने विषयसमेत अनुसन्धान हुने प्रहरी निरीक्षक घिमिरेको भनाइ छ ।