इलाम । इलामका किसानले मध्यपहाडी तथा उच्च भेगमा उत्पादन हुने बहुगुणी तरकारी स्कुसबाट राम्रो आम्दानी गरिरहेका छन्। कम मेहनत र कम लागतमा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान स्कुस खेतीतर्फ आकर्षित भएका हुन्।
वैशाखदेखि कात्तिकसम्म उत्पादन हुने स्कुसबाट किसानले मनग्य आम्दानी गरिरहेका छन्। यहाँका किसानले नगदेबालीका रूपमा व्यावसायिक स्कुस खेती गर्दै आएका छन्।

सूर्योदय नगरपालिका–८ का किसान दिनेश महतले ४० रोपनी क्षेत्रफलमा व्यावसायिक स्कुस खेती गर्दै आएका छन्। चार वर्षदेखि व्यावसायिक रूपमा स्कुस खेती गर्दै आएका महतको आम्दानीको मुख्य स्रोत नै स्कुस बनेको छ। उनले विसं २०७९ मा ‘बीएन्डएम कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यावसायिक स्कुस खेती सुरु गरेका हुन्।
स्कुस बिक्री गरेर उनले वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। “मैले चार वर्षदेखि व्यावसायिक स्कुस खेती गर्दै आएको छु। अहिले ४० रोपनी क्षेत्रफलमा स्कुस खेती विस्तार गरेको छु,” उनले भने, “गत वर्ष १२ लाख रुपैयाँको स्कुस बेचेको थिएँ। यस वर्ष पनि धमाधम बिक्री भइरहेको छ।”
भिरालो तथा थोरै जमिनमा समेत राम्रो उत्पादन हुने, सस्तो र स्वादिलो भएकाले मध्यपहाडी तथा हिमाली क्षेत्रमा स्कुसलाई लोकप्रिय तरकारीका रूपमा लिने गरिएको छ। स्कुसको मुन्टा र जरासमेत स्वादिष्ट तथा स्वास्थ्यवर्धक मानिन्छ।
सूर्योदय नगरपालिका–९ आरीदाङका प्रेमबहादुर खड्काले २५ रोपनी क्षेत्रफलमा व्यावसायिक स्कुस खेती गर्दै आएका छन्। गत वर्ष स्कुस बिक्रीबाट १३ लाख रुपैयाँ आम्दानी गरेका खड्काले यस वर्ष आम्दानी बढ्ने अपेक्षा गरेका छन्।
“मैले २५ वर्षदेखि व्यावसायिक रूपमा स्कुस लगाउँदै आएको छु। गत वर्ष १३ लाख रुपैयाँ आम्दानी गरेको थिएँ,” उनले भने, “यस वर्ष खेती विस्तार गरेकाले आम्दानी बढ्ने अपेक्षा छ।” उनले यस वर्ष थप तीन रोपनी क्षेत्रफलमा स्कुस खेती विस्तार गरेको बताए।
व्यावसायिक स्कुस खेतीबाट राम्रो आम्दानी हुने थाहा पाएपछि सूर्योदय नगरपालिका–८ कँजेनीका किसान चन्द्र गुरुङले पनि स्कुस खेती सुरु गरेका छन्। तीन वर्षअघि चार रोपनी क्षेत्रफलमा परीक्षणका रूपमा स्कुस रोपेका गुरुङले आम्दानी राम्रो भएपछि खेती विस्तार गर्ने योजना बनाएका छन्।
“मैले परीक्षणका लागि तीन वर्षअघि चार रोपनी क्षेत्रफलमा स्कुस रोपेको थिएँ। राम्रै आम्दानी हुँदो रहेछ,” उनले भने, “अब व्यावसायिक रूपमा स्कुस खेती गर्ने योजना छ।”
यहाँका अधिकांश किसानले नगदेबालीका रूपमा स्कुस खेती गरी राम्रो आम्दानी गर्दै आएका छन्। किसानले कम्तीमा तीन रोपनीदेखि ४० रोपनीसम्म क्षेत्रफलमा स्कुस खेती गरेका छन्। फिक्कल, पशुपतिनगर, पञ्चकन्या, कन्याम, समाल्बुङलगायतका क्षेत्रमा व्यावसायिक स्कुस खेती हुँदै आएको छ।
यातायातको सहज सुविधा भएकाले स्कुस खरिद गर्न व्यापारीहरू किसानका घरसम्मै पुग्ने गरेका छन्। चियाखेतीसँगै स्कुस खेतीलाई पनि अँगालेका यहाँका किसानको आर्थिक अवस्था सुधार्न स्कुस खेतीले महत्वपूर्ण योगदान पुर्याएको छ।
इलामसँगै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली र रामेछापलगायत जिल्लामा समेत स्कुसका लागि उपयुक्त हावापानी भएकाले राम्रो उत्पादन हुने गरेको पाइन्छ।
पूर्वी नेपालका विभिन्न जिल्लामा उत्पादित स्कुस व्यापारीले झापा, मोरङ र सुनसरी हुँदै भारतीय बजारमा लैजाने गरेका छन्। व्यापारीले स्कुस प्रतिमन अर्थात् ४० केजीलाई २५० रुपैयाँदेखि एक हजार ६०० रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन्।
उत्पादन सुरु हुने समयमा प्रतिमन ६०० रुपैयाँसम्ममा बिक्री भएको स्कुस अहिले भने प्रतिमन २५० रुपैयाँमा मात्र बिक्री भइरहेको किसान महतले बताए।
“मूल्य राम्रो हुँदा आम्दानी पनि राम्रै हुन्छ, मूल्य नहुँदा आम्दानी पनि कम हुन्छ,” महतले भने, “बजार स्थिर हुने हो भने स्कुसबाट राम्रो फाइदा लिन सकिन्छ।” अन्य खेतीजस्तो नियमित स्याहारसुसार गर्न नपर्ने भएकाले स्कुस खेतीमा धेरै खर्च नलाग्ने महतको भनाइ छ।