काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् प्रतिकार्यमा परम्परागत रूपमा मन्त्रालयमा बसेर कागजात हेर्ने शैलीभन्दा डिजिटल माध्यममार्फत कमान्ड तथा समन्वयलाई प्राथमिकता दिइएको बताएका छन्।
गृहमन्त्री गुरुङका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको सहभागितामा विपद् प्रतिकार्य कमान्ड सेन्टरबाट काम भइरहेको छ। उनले अनलाइन माध्यमबाट प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक हुँदै आएको जानकारी दिए।

विपद्को प्रतिकार्यमा स्थलगत अवस्थाको जानकारीबिना कार्यालयबाट मात्र नेतृत्व गर्ने पुरानो अभ्यासले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ छ। विगतमा अपनाइएको नेतृत्व शैलीबाट उत्पन्न समस्याबाट पाठ सिक्दै अहिलेको विपद् व्यवस्थापन प्रणालीलाई त्यसभन्दा फरक ढंगले सञ्चालन गरिएको उनले बताए।
गुरुङले डिजिटल प्रविधिको प्रयोगबाट निर्णय, समन्वय तथा प्रतिकार्यका काम तुलनात्मक रूपमा छिटो र प्रभावकारी भइरहेको दाबी गरे। मन्त्रालयको टेबल पछाडि बसेर गरिने कामभन्दा प्रविधिमा आधारित समन्वय प्रभावकारी देखिएको उनको भनाइ छ।
आफू भौतिक रूपमा कहाँ बसेर काम गरिरहेको छु भन्ने विषयभन्दा विपद् प्रतिकार्यबाट प्राप्त परिणामलाई नेतृत्वको मूल्यांकनको आधार बनाउनुपर्ने उनले बताए।
गृहमन्त्री गुरुङले नेतृत्वको परम्परागत अवधारणा र प्रविधिमा आधारित वर्तमान कार्यशैलीबीचको अन्तरलाई ‘जेनेरेसन ग्याप’सँग समेत जोडे। पुरानै प्रणालीबाट फरक परिणाम अपेक्षा गर्ने तर नेतृत्वलाई पुनः त्यही पुरानो शैलीमा फर्किन दबाब दिने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरे।
