बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।
नदीको बहाव प्रभावित भएकाले नदी किनारका बस्तीमा सतर्कता अपनाउन र स्थानीयलाई सचेत गराउन लागिएको प्रजिअ पौडेलले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै माथिबाट आएको पहिरोले चौलानी नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ ।

नदी थुनिएर एक्कासि फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा सम्भावित जोखिमबाट बच्न प्रशासनले आग्रह गरेको छ ।