विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदैछ । राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ ।

रथयात्रामा नेपाल र भारतबाट ३ लाख बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ । यो पटकको रथयात्रामा डीजे साउन्ड प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।
विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्रा सुरु भएको थियो । विक्रम संवत २०२५ देखि भव्य रथयात्रा गर्न थालिएको हो । रथसँगै खटयात्रा पनि गराइन्छ । खट यात्रा ९५ औँ पटक हो, रथयात्रा ५९ औँ हो ।
विराटनगरको पानीटङ्की चोकमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै बरगाछी, दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुग्नेछ ।
करिब ८ किलोमिटर दूरीको यात्रामा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ । रथयात्राका क्रममा भेटीबापत संकलन हुने रकम भोटेकोशी बाढीपीडितको राहत तथा पुनस्थापन लागि प्रयोग गरिनेछ ।