काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन एक साता पछि सार्ने तयारी गरिएको छ। आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको मिति परिवर्तनबारे छलफल हुने भएको छ।
सभापति गगन थापाले दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मिति १६ देखि १९ असोजमै गर्ने गरी तल्लो तहको कार्यतालिका हेरफेर गर्न लागिएको हो।

वडा अधिवेशन सार्नुका मुख्य कारणमा रसुवाको बाढीपछि अवरुद्ध सडक, आन्तरिक राजनीतिक छलफल र हरितालिका तीजलाई लिइएको छ। यसअघि आगामी बुधबार वडा अधिवेशन गर्ने कार्यतालिका थियो।
कांग्रेसभित्र महाधिवेशनलाई लिएर संस्थापन पक्ष र अन्य नेताबीच छलफल जारी छ। संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग संवाद गरिरहेको जनाएको छ।
कांग्रेसको अर्को पक्षले भने महाधिवेशन मंसिरमा गर्नुपर्ने अडान राख्दै आएको छ। यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले महाधिवेशनको मिति थप हेरफेर हुने सम्भावना पनि रहेको नेताहरूले बताएका छन्।
संस्थापन पक्षका एक शीर्ष नेताका अनुसार दुवै रिट फिर्ता लिएर सहमतिको वातावरण बनेमा केन्द्रीय महाधिवेशनको मिति केही पर सार्न सकिने सम्भावना छ।