Lite Nepal

आइतबार, भाद्र २१, २०८३

विराटनगर । महिला प्रहरी कर्मचारीलाई महिनावारीका समयमा आवश्यक महिनावारी प्याड सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा प्याड भेन्डिङ मेसिन जडान गरिएको छ।

महिला प्रहरी कर्मचारीको महिनावारी स्वास्थ्य तथा स्वच्छतालाई ध्यानमा राख्दै कार्यालय परिसरमा ह्वाइट मून ब्रान्डको  प्याड भेन्डिङ मेसिन जडान गरिएको हो। आवश्यक परेको समयमा कार्यालयमै सहज रूपमा प्याड उपलब्ध हुने भएपछि महिला प्रहरी कर्मचारीलाई प्याड किन्न बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) शेखर खनालले महिला प्रहरी कर्मचारीको समस्या र असहजतालाई ध्यानमा राखेर कार्यालयमै यस्तो व्यवस्था गरिएको बताए।

डिआइजी खनालका अनुसार आफू कार्यालयमा आएपछि महिला प्रहरी कर्मचारीसँग उनीहरूको समस्या र आवश्यकताबारे छलफल गर्दा महिनावारीका समयमा प्याड सहज रूपमा उपलब्ध नहुँदा समस्या हुने गरेको जानकारी पाएका थिए। प्याड लिन टाढा जानुपर्ने, घर पुग्नुपर्ने तथा कार्यालयमै आवश्यक सामग्री उपलब्ध नहुँदा महिला कर्मचारीले असहजता भोग्नुपरेको पाइएपछि भेन्डिङ मेसिन जडान गरिएको उनले बताए।

‘महिला कर्मचारीलाई राखेर समस्याबारे सोध्दा महिनावारी प्याड आवश्यक पर्ने तर नजिकै उपलब्ध नहुँदा टाढा जानुपर्ने र घर जानुपर्ने अवस्था रहेको जानकारी पाएँ। त्यसैले कार्यालयमै यो व्यवस्था गरेका हौँ,’ डिआइजी खनालले भने।

मेसिनमा पाँच वटा क्वाइन राखेपछि प्याड निकाल्न सकिने व्यवस्था गरिएको छ। कार्यालयमा करिब एक वर्षसम्म पुग्ने गरी प्याडको व्यवस्थापन गरिएको खनालले जानकारी दिए।

महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई लुकाउने वा असहजताका रूपमा लिनुभन्दा सुरक्षित, स्वच्छ र सम्मानजनक वातावरणमा व्यवस्थापन गर्नुपर्ने मान्यतालाई प्रोत्साहन गर्न यो पहल गरिएको हो।

कार्यस्थलमै प्याडको सहज पहुँच सुनिश्चित भएपछि महिला प्रहरी कर्मचारीको स्वास्थ्य, स्वच्छता र कार्यक्षमतासँगै मर्यादित महिनावारीको अभ्यासलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं