काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक आपूर्ति प्रणालीलाई तीव्र बनाइएको छ। नियमित ढुवानीको मुख्य मार्ग अवरुद्ध भए पनि तराईका विभिन्न जिल्लास्थित उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने क्रम जारी छ।
नेपाल आयल निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म तीन दिनमा मात्रै ८७ हजार ८७७ वटा ग्यास सिलिन्डर रिफिल गरेर काठमाडौं भित्र्याइएको छ। यसमध्ये भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिन्डर काठमाडौं ल्याइएको हो।

निगमले काठमाडौंका ग्यास उद्योगका खाली सिलिन्डरलाई उपत्यकाबाहिरका उद्योगमा पठाएर त्यहीँ ग्यास भर्ने र भरिएका सिलिन्डर वैकल्पिक मार्गबाट राजधानी ल्याउने व्यवस्था मिलाएको हो। यसका लागि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका १६ वटा उद्योग प्रयोग गरिएको निगमले जनाएको छ।
यसरी काठमाडौं भित्र्याइएका सिलिन्डरमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते लगायतका ब्रान्ड रहेका छन्।
कृष्णभिरमा सडक भासिएपछि काठमाडौं आउने ग्यास बुलेटको नियमित आवागमन प्रभावित भएको थियो। त्यसपछि उद्योगीहरूले उपत्यकाबाहिरका प्लान्ट प्रयोग गरी खाली सिलिन्डर भर्ने विकल्प अघि सारेका हुन्। नेपाल आयल निगमले समेत बाहिरी उद्योगमा बोटलिङ गरेर वैकल्पिक मार्गबाट सिलिन्डर ल्याउन अनुमति दिएको छ।
ग्यास उद्योगीहरूका अनुसार सामान्य अवस्थामा काठमाडौंमा खपत हुने ठूलो परिमाणको ग्यास नियमित मार्गबाटै ल्याइन्थ्यो। तर सडक अवरोधपछि आपूर्ति प्रणाली नै प्रभावित भएपछि बाहिरी जिल्लाका प्लान्ट प्रयोग गरेर सिलिन्डर भर्ने र ट्रकमार्फत काठमाडौं ल्याउने प्रक्रिया अपनाइएको हो। केही उद्योगले दैनिक हजारौँ सिलिन्डर उपत्यका ल्याउने तयारीसमेत गरेका छन्।
यसअघि सडक अवरुद्ध भएपछि काठमाडौंका विभिन्न बिक्री केन्द्रमा ग्यास लिन उपभोक्ताको भीडसमेत बढेको थियो। कतिपय बिक्री केन्द्रमा उपभोक्ताले लामो समय लाइन बसेर पनि ग्यास नपाएको अवस्था देखिएको थियो।
यद्यपि वैकल्पिक व्यवस्थाबाट आपूर्ति बढाउन थालेसँगै निगमले कृष्णभिर खण्डमा सडक सञ्चालनमा नआएसम्म बाहिरी जिल्लाका उद्योगबाट ग्यास भरेर ल्याउने प्रणालीलाई निरन्तरता दिने जनाएको छ।
निगमको यो व्यवस्थाले मुख्य आपूर्ति मार्ग अवरुद्ध भए पनि काठमाडौंमा ग्यासको आपूर्ति पूर्णरूपमा ठप्प हुन नदिने प्रयास गरिएको देखिन्छ।