काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालका मुद्दा तथ्य, प्रमाण र वैज्ञानिक आधारसहित प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्।
आइतबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले प्रधानमन्त्रीको विदेश भ्रमणलाई औपचारिकतामा सीमित नगरी विज्ञ, अनुसन्धानकर्ता र विशेषज्ञसँग परामर्श गरेर तयारी गर्न आग्रह गरे।

उनले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, रसुवाको भोटेकोशीमा आएको बाढीजस्ता विपद्का वैज्ञानिक प्रमाण प्रस्तुत गर्दै जलवायु वित्त र हानि–नोक्सानीका विषयमा कडा लबिङ गर्नुपर्ने बताए।
विगतका सरकारहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका ‘हिमालदेखि महासागरसम्म’ र जलवायु न्यायका एजेन्डालाई निरन्तरता दिँदै यसपटक ठोस उपलब्धि हासिल गर्ने गरी तयारी गर्नुपर्नेमा थापाले जोड दिए।