विराटनगर । भोटेकोशी नदीमा आएको भीषण बाढीले घरबार र दैनिकी प्रभावित बनाएपछि अस्थायी आश्रयस्थलमा बसिरहेका बालबालिकाको अनुहारमा अहिले विस्तारै मुस्कान फर्किन थालेको छ।
बाढीको त्रास र असहज परिस्थितिबाट गुज्रिरहेका बालबालिकालाई मानसिक रूपमा सहज बनाउन सरकारसँगको समन्वयमा विभिन्न गैरसरकारी संघसंस्थाले आश्रयस्थलमै बाल मनोविज्ञानमा आधारित गतिविधि सञ्चालन गरिरहेका छन्।

बालबालिकालाई पढाउने, खेलाउने, चित्र बनाउन लगाउने तथा उनीहरूसँग संवाद गर्ने गतिविधि नियमित रूपमा भइरहेका छन्। विशेषगरी चित्रकला, खेलकुद र अन्य सिर्जनात्मक गतिविधिले बालबालिकालाई बाढीबाट उत्पन्न त्रास र तनाव कम गर्न तथा सकारात्मक सोच विकास गर्न सहयोग पुर्याइरहेको छ।
‘खेल्दै सिक्ने र सिर्जनात्मक गतिविधिमार्फत मन हलुका बनाउने’ प्रयासले विपद्को पीडाबीच बालबालिकामा नयाँ आशा जगाएको छ। केही समयका लागि भए पनि खेल र चित्रकलामा रमाउँदा उनीहरूले भोगेको भय र तनावबाट बाहिर निस्कने अवसर पाएका छन्।
बालबालिकासँगै बाढीबाट प्रभावित अन्य व्यक्तिका लागि पनि मनोसामाजिक परामर्श सेवा सञ्चालन भइरहेको छ। विपद्पछिको मानसिक तनाव, डर र चिन्ता कम गर्न परामर्शलाई राहत व्यवस्थापनकै महत्वपूर्ण हिस्साका रूपमा अघि बढाइएको छ।
यसैबीच, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले अस्थायी आश्रयस्थलमा रहेका प्रभावित परिवारलाई दैनिक रूपमा आवश्यक राहत सामग्री वितरण गरिरहेका छन्।
भौतिक क्षतिले प्रभावित जीवन सामान्य अवस्थामा फर्किन समय लागे पनि बालबालिकाको हातमा थमाइएको रंग, खेल मैदानमा गुञ्जिएको हाँसो र दिइएको मनोसामाजिक साथले विपद्को अँध्यारोबीच आशाको उज्यालो देखाउन थालेको छ।