विराटनगर । लागूऔषध गाँजा बरामद भएको गाडीमा टाँसिएको स्टीकर उप्काएर प्रमाण नष्ट गर्न खोजेको आरोपमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति रोहित यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–१४ का २८ वर्षीय यादवलाई इलाका प्रहरी कार्यालय रानी, विराटनगरको परिसरभित्र अनधिकृत रूपमा प्रवेश गरी अनुसन्धानमा रहेको गाडीमा टाँसिएको स्टीकर उप्काएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको परिसरभित्र को १ च ६६२० नम्बरको मारुती भ्यान राखेको थियो। उक्त भ्यानमा दिव्य ज्योती अस्पताल प्रा.लि. लेखिएको स्टीकर टाँसिएको थियो। सोही गाडीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरी अनुसन्धान गरिरहेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रको अनुसार गाडी प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा यादव बाहिरबाट अनधिकृत रूपमा प्रहरी परिसरभित्र प्रवेश गरेका थिए। त्यसपछि उनले अनुसन्धानका लागि राखिएको मारुती भ्यानमा टाँसिएको दिव्य ज्योती अस्पताल प्रा.लि. लेखिएको स्टीकर उप्काएका थिए।
अनुसन्धानमा रहेको गाडीमा टाँसिएको स्टीकर उप्काएर प्रमाणमा फेरबदल तथा प्रमाण नष्ट गर्न खोजेको आरोपमा यादवलाई भदौ २२ गते नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।