काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता तथा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। ‘हामी विषम परिस्थितिमा छौं। बाढीपहिरोको मारमा छौं। खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्था छ। अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ उनले भने।

उनले चुनावका बेला संविधान परिवर्तन गर्ने विषयमा आफूहरूले प्रतिबद्धता नजनाएको उल्लेख गर्दै संविधानको मर्ममाथि प्रहार भइरहेको दाबी गरे। ‘हामीले चुनावमा जाँदा संविधान बदल्छौं भनेका पनि थिएनौं। संविधानको मर्ममाथि प्रहार भइरहेको छ,’ सिंहले भने।
संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सरकारको प्रमुख हुने व्यवस्था भए पनि अहिले सल्लाहकारमुखी शासनतर्फ मुलुक अघि बढिरहेको उनको आरोप छ।
‘संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ। तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ। सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ,’ उनले टिप्पणी गरे।