काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ। निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनअन्तर्गत निर्वाचन सहजीकरणका लागि सात जना वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन संयोजकको जिम्मेवारी दिएका हुन्।
समितिका अनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमती प्रदेशमा कृष्ण अर्याल र गण्डकी प्रदेशमा जगन्नाथ ढकाललाई संयोजक तोकिएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा दीपकुमार रेग्मी, कर्णाली प्रदेशमा उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा गंगाराम पाध्यायलाई निर्वाचन संयोजकको जिम्मेवारी दिइएको छ।
संयोजक खड्काका अनुसार निर्वाचन समितिले बिहीबार वडा तहदेखि जिल्लासम्मका पार्टी संरचनालाई पत्र पठाउँदै निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्न केन्द्रबाट खटाइएका निर्वाचन अधिकृतसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ।
केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते गाउँ–नगर वडा अधिवेशनको मिति तोकेको छ। स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन सम्पन्न गर्न समितिले निर्देशन दिएको छ।
त्यस्तै, असोज ७ गते गाउँ–नगर अधिवेशन तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। कांग्रेसले यसअघि नै असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरिसकेको छ।
निर्वाचन समितिले पठाएको पत्रमा बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङको हकमा सम्बन्धित निर्वाचन अधिकृत र स्थानीय तहका पार्टी संरचनासँग समन्वय गरी अधिवेशन सम्पन्न गर्न भनिएको छ। कांग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भने १५औँ महाधिवेशनपछि गर्ने जनाएको छ।