Lite Nepal

शुक्रबार, भाद्र २६, २०८३

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर महिलाले शिशु जन्माएको घटनामा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाएर छानबिन सुरु गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभामा घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताउँदै छानबिन प्रतिवेदनका आधारमा दोषी देखिए कानुनअनुसार कारबाही गरिने जानकारी दिइन्।

अस्पतालको प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान करिब २ बजे ३० वर्षीया महिला प्रसव पीडामा अस्पताल पुगेकी थिइन्। उनलाई प्रारम्भिक परीक्षणपछि प्रसूति कक्षको शय्या नम्बर २४ मा भर्ना गरिएको थियो। तर, आवश्यक परीक्षणका प्रतिवेदन उपलब्ध नभएको भन्दै स्वास्थ्यकर्मीले थप परीक्षण गर्न सुझाव दिएका थिए।

महिला र उनका कुरुवा उपलब्ध गराइएको शय्यामा नरही अस्पतालबाट बाहिरिएपछि बिहान करिब ४ः४५ बजे उनले अस्पतालको मूल गेटबाहिरै शिशु जन्माएकी थिइन्। प्रसूतिपछि आमा र शिशुलाई सालनालसहित पुनः प्रसूति कक्षमा ल्याइएको र ड्युटीमा रहेका स्वास्थ्यकर्मीले सालनाल काटेर आवश्यक उपचारका लागि अस्पतालमै बस्न आग्रह गरेको अस्पतालको विवरण छ। तर, उनीहरू पछि अस्पतालबाट बाहिरिएका थिए।

घटनाबारे स्वास्थ्य मन्त्रालयले अस्पतालसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको थियो। अस्पतालले स्पष्टीकरण बुझाइसकेको छ। घटनाको छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ, आचारसंहितासम्बन्धी समितिका डा. अजय शाह तथा स्वास्थ्य सेवा विभागका डा. पवनजङ्ग रायमाझीसहित पाँच सदस्यीय टोली राजविराज पुगेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको छ।

मन्त्री मेहताले प्रारम्भिक विवरणका आधारमा निष्कर्षमा पुग्न नमिल्ने बताउँदै प्रतिवेदन आएपछि जिम्मेवारी निर्धारण गरिने जानकारी दिइन्। अस्पतालले भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं