काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्। शुक्रबार बसेको कार्यदल बैठकमा संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले आ–आफ्ना प्रतिवेदन पेस गरेका हुन्।

दुवै प्रतिवेदन अध्ययन गरी साझा धारणा बनाउने र एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय भएको एमाले उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टले जानकारी दिए।
कार्यदलका सबै सदस्यलाई दुवै प्रतिवेदन उपलब्ध गराइएको छ। अध्ययनका लागि दुई दिन समय दिँदै बैठक आइतबारसम्म स्थगित गरिएको छ। यसअघि महासचिव पोखरेललाई प्रतिवेदन तयार गर्ने तथा संयोजक थापालाई त्यसको संयोजन र परिमार्जन गर्ने जिम्मेवारी दिइएको थियो। तर, थापाले पनि छुट्टै सुझावसहितको प्रतिवेदन पेस गरेपछि कार्यदलमा दुईवटा दस्तावेज आएका हुन्।
भट्टका अनुसार ‘पुनर्गठन’लाई मूल नेतृत्व परिवर्तनका रूपमा बुझ्ने कि निर्वाचन समीक्षा गर्दै समग्र पार्टी संगठनको पुनर्गठन गर्ने भन्ने विषयमा केही फरक बुझाइ देखिएको हो।
उनले दुईवटा प्रतिवेदन आउनुलाई पार्टीभित्रको ठूलो विवादका रूपमा बुझ्न नहुने बताए। संयोजक थापाको दस्तावेज महासचिव पोखरेलको प्रतिवेदनभन्दा पूर्णतः अलग नभएको र त्यसमा थप सुझाव तथा विषय समेटिएको उनको भनाइ छ।
महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्ताव नरहेको प्रवक्ता भट्टले स्पष्ट पारे। उनका अनुसार प्रतिवेदनमा निर्वाचनको समीक्षा गर्नुका साथै तल्लो तहबाट आएका सुझावहरू समेटिएका छन्।
अब दुवै प्रतिवेदनका विषयवस्तु समेटेर आइतबार साझा दस्तावेज तयार गरिनेछ। उक्त एकीकृत प्रतिवेदन पहिले पार्टी सचिवालयमा पेस गरिने र सचिवालयबाट पारित भएपछि मात्रै एउटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने एमालेको तयारी छ।