विराटनगर । घरधनीलाई परिवार बस्ने प्रयोजनका लागि कोठा भाडामा लिएको बताउने, तर घरधनीलाई समेत जानकारी नदिई भन्सार छलीबाट ल्याइएका कपडा भण्डारण गर्ने प्रवृत्ति विराटनगरमा देखिएको छ।
विराटनगर महानगरपालिका – ८ मधुमारामा भाडाको कोठाबाट ११ बोरा कपडा बरामद भएको घटनासँगै चाँदनी चोक क्षेत्रबाट पनि १० पोका कपडा बरामद भएपछि तस्करीका सामान अस्थायी रूपमा विभिन्न स्थानमा लुकाएर राख्ने गरेको खुलेको हो।
भारतको जोगबनी नाकाबाट भन्सार छली गरी ल्याइएका कपडा विराटनगरका विभिन्न स्थानमा भण्डारण गर्ने र पछि मागअनुसार बजारमा पठाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी ) गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

उनको अनुसार मधुमारा क्षेत्रमा परिवार बस्ने भन्दै करिब ६ महिनाअघि भाडामा लिइएको कोठामा मानिस नबसी तस्करीका कपडा राख्ने गरिएको पाइएको थियो। घरधनीलाई कोठा कुन प्रयोजनका लागि प्रयोग भइरहेको छ भन्ने जानकारी नै छैन ।
यसै गरी बरगाछीस्थित चाँदनी चोक क्षेत्रमा समेत भन्सार छलीबाट ल्याइएका कपडा अस्थायी रूपमा भण्डारण गरी राखिएको अवस्थामा १० पोका कपडा बरामद गरिएको उनले बताए । प्रहरीले भाडाका घर तथा कोठालाई तस्करीका सामान भण्डारण गर्ने स्थलका रूपमा प्रयोग गर्ने व्यक्तिमाथि निगरानी बढाएको जनाएको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको एसपी भण्डारीले बताए । उनको अनुसार चाँदनी चोकमा बरामद भएको सामाग्री भन्सार बुझाउन बाँकी रहेको छ । उनले भने, ‘आज ढिला भयो भोलि बुझाउँछौ ।’